परराष्ट्र मन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने


 


काठमाडौँ, मंसिर २३ । परराष्ट्र मन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् ।

मन्त्री साउद कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान भएका हुन् ।

उनले भोलिदेखि सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै इजरायलको हमासले बन्दी बनाइएका विपिन जोशीको रिहाइका लागि पहल गर्ने मन्त्री साउदको सचिवालययले जनाएको छ ।

मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग भेटेर जोशी रिहाका लागि पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतार जानुअघि मन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

उनले आफू कतार गएका बेला यस विषयमा कुराकानी गर्ने र यसका लागि सबै व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यसपछि उनले मङ्सिर १३ गते बिहान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर विपिन जोशीका आमाबुवालाई भेटेका थिए ।

उनले विपिनका आमाबुबालाई आफू कतार जान लागेको र त्यहाँ पुगेर जोशीको रिहाइका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्