बालकुमारी घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन, यातायात ठप्प


 


सुर्खेत, पुस १५ । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, र्‍याली र चक्काजाम गरिएको छ ।

रत्न राजमार्ग अन्तर्गत एरिचोक–मंगलगढी चोकमा कुनैपनि सवारी साधन चल्न सकेका छैनन् । युवाहरुले सोही ठाउँमा शनिबार पनि विरोध प्रर्दशन गरेका थिए ।

आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

साथै, मृतक युवाहरूलाई शहीद घोषणा गर्नुपर्ने र मृतकका परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।

आन्दोलन भइरहेको ठाउँमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १५ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्