चिनियाँ ऋणको ‘पासो’मा परेको अन्तराष्ट्रिय विमानस्थलको कन्तबिजोग, एक वर्षमा जम्मा ५ अन्तराष्ट्रिय उडान


 


काठमाडौँ । चिनियाँ ऋणबाट निर्माण गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँचवटा मात्रै अन्तराष्ट्रिय उडान भएका छन् । २०७३ (सन् २०१६) देखि निर्माण सुरु भएर २०७९ पुष १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म (पछिल्लो एक वर्षमा) पाँचवटा मात्रै अन्तराष्ट्रिय चार्टर्ड उडान भएका हुन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हालसम्म कुनै पनि व्यवसायिक उडान भएको छैन ।

विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक असार ६ गते चीनको छेन्दुबाट सिचवान एयरलाइन्सले चार्टर्ड उडान गरेको थियो । जुन उडानमार्फत नेपाल–चीन फ्रेन्डसीप ड्रयागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र प्रतिनिधिमण्डल गरी कुल ९६ जना पोखरा अवतरण गरेका थिए । त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले दोस्रो चार्टर्ड उडान गरेको थियो ।

त्यस्तै, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा तेस्रो अन्तराष्ट्रिय उडानका रुपमा जाजरकोट भुकम्प प्रभावितका लागि राहत सामाग्री लिएको आएको चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाजले अवतरण गरेका थिए । त्यसपछि चौथोपटक मंसिर ७ गते र पाचौँ पटक मंसिर ९ गते माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगिताका लागि चीनको कुमनिङबाट हिमालयन एयरलाइन्सले पोखरा चार्टर्ड उडान गरेको हो ।

अरबौँ रुपैयाँ चिनियाँ ऋण लगानीमा तामझामका साथ सञ्चालन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धेश्यअनुसार प्रयोग हुन नसकेपछि विमानस्थलको भविष्यमाथि नै शंका उत्पन्न भएको छ । विमानस्थल सञ्चालन भएदेखि विमानस्थलको बिजनेश साह्रै कमजोर देखिएको छ । यही कारण पनि नेपाललाई विमानस्थल निर्माणका बेला लिएको चिनियाँ ऋण तिर्न थप चुनौती देखिएको छ ।

यसो त विमानस्थलकै बिजनेशले यो ऋण तिर्न सकिने अवस्था सार्है न्युन छ । चीन छिमेकी मात्र होइन, कुटिल छिमेकी हो । उसले सो ऋण मिनाहा गर्यो नै भने पनि त्यसमा उसको ठुलो स्वार्थ हुन्छ भन्ने बुझ्न गाह्रो छैन । र त यो विमानस्थल नेपाली राष्ट्रिय स्वाभिमानप्रति चिनियाँले खेल्ने क्रिडास्थल होला कि भन्ने तनाव नेपालीहरुलाई छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्नु सार्है राम्रो कुरा हो । तर विमानस्थलका नाममा ऋणको पासोमा परेर नेपाली अर्थतन्त्रमा समस्या हुनु भने गलत कुरा हो।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्