पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : अध्यक्ष ओली


 


काठमाडौँ, १६ माघ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताउनुभएको छ ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताउनुभयो ।

उहाँले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि राजनीतिक पार्टी र कार्यकर्ताले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका उपलव्धि संस्थागत गर्न राजनीतिक शक्तिले ध्यान दिन नसकेको जनाउँदै अध्यक्ष ओलीले देश र जनताका खातिर समृद्धिलाई केन्द्रमा राखेर गर्नुभएका पहलको सराहना गर्नुभयोे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यक्ष ओलीबाट संसद्मा व्यक्त विचारको सङ्कलनले समृद्ध नेपाल निर्माणका यात्रीलाई सहयोग मिल्ने बताउनुभयो । संविधानविद् नीलाम्बर आचार्यले राजनीति गर्नेले उक्त ग्रन्थकोे अध्ययन गरी अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रम चिर्नुपर्ने बताउनुभयो ।

लेखक पुरुषोत्तम दाहालले राष्ट्र र राष्ट्रियता तथा समृद्धिका लागि अध्यक्ष ओलीका अडान विवेकपूर्ण रहेका बताउनुभयो ।

सानुमैयाँ खड्कद्वारा सङ्कलित उक्त ग्रन्थको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो । अध्यक्ष ओलीका २०४८ सालदेखिका संसद्मा व्यक्त १८३ सम्बोधन संलग्न सो कृति आठ सय ३६ पृष्ठको रहेको छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्