कांग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा उभ्याउन २२ नेताको विशेष पूरक प्रस्ताव


 


काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना नेताहरुले विशेष पूरक प्रस्ताव पेस गरेका छन् ।

केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।

हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्य भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव छन् ।

यस्तै केन्द्रीय सदस्य नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौला, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा हस्ताक्षर गरेका छन् ।

नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पुरै उपेक्षा गरिएको प्रस्तावमा उल्लेख छ ।

वैदिक सनातन हिन्दूराष्ट्र राष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठक र काठमाडौँमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दुराष्ट्रको माग गर्दै प्रस्ताव पेस गरेको विषय पनि स्मरण गराइएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्