प्रकाश ज्वालालाई फिर्ता बोलाउनेबारे छलफलमा एकीकृत समाजवादी


 


काठमाडौँ, फागुन ६ । नेकपा (एकीकृत समाजवादी)ले भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।

गत पुस १३ गते दुई जनाको मृत्यु हुने गरी भएको बालकुमारी घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि पार्टीभित्र मन्त्री ज्वालाबारे आन्तरिक छलफल सुरु भएको हो ।

एकीकृत समाजबादीका नेतासमेत रहेका मन्त्री ज्वाला बालकुमारी घटनामा दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा समेत प्रतिपक्षका सांसदहरूले मन्त्री ज्वालाको राजीनामा र कारबाहीको माग गरेपछि एकीकृत समाजवादी थप दबाबमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री ज्वालाबारे जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर थप कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्