ब्याक टु लाइफबाट वीरेन्द्रनगरमा अस्पताल भवन निर्माण


 


वीरेन्द्रनगर, सुर्खेत फाल्गुन ६
अन्तरराष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाईफको आर्थिक सहयोगमा वीरेन्द्रनगर स्थित साविकको कटकुवा स्वास्थ्यचौकी रहेको स्थानमा सञ्चालित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माण पूरा भई आवश्यक सामग्री तथा उपकरण जडान कार्य सम्पन्न भएको छ ।

१८ महिना अघि सुरु भएको उक्त परियोजना सम्पूर्ण रुपमा पूरा भए पश्चात् आज ब्याक टु लाइफ इ भी जर्मनीका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासकीय निर्देशक अच्युतप्रसाद पौडेलबाट अस्पताल परिसरमै एक समारोह बिच वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललाई अस्पताल भवन र उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले ५ करोड ७० लाख रुपैँया बराबरको ५- सैयाको भवन निर्माण सहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरणहरु र नवजात शिशुको सघन कक्ष संचालन गर्न आवश्यक सम्पूर्ण सामग्री समेत जडान गरिएको जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाको २०७८ साल मङ्सिर २२ गतेको कार्यपालिका बैठकले वीरेन्द्रनगर नगरपालिकामा महिला तथा बालबालिका अस्पताल निर्माण गर्नु पर्ने भएको हुँदा नगरपालिकाको तर्फबाट ब्याक टु लाइफलाई अस्पताल भवन निर्माण तथा सोको लागि आवश्यक क्लिनिकल सामग्रीहरु उपलब्ध गराउन अनुरोध गरेको थियो।

नगरपालिका प्रमुख मोहनमाया ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरुले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ। हाल कर्णाली प्रदेश र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लामा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ।

सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा संस्थाले कार्यक्रम र सहयोग गरिरहेको छ। मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ्ग सेन्टर संचालन गरेको छ।

आज सम्पन्न हस्तान्तरण कार्यक्रम ब्याक टु लाइफको परियोजना साझेदार संस्था मानव अधिकार तथा विकास केन्द्रका अध्यक्ष जग वहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्