वायुसेवा निगमलाई डुबायाे चिनियाँ विमान


 


काठमाडाैं । नेपाल वायु सेवा निगमले चीनबाट किनेका ५ थोत्रा विमान बेच्न हम्मे–हम्मे परेको छ । आन्तरिक उडानका लागि ल्याइएका ती विमानको मर्मत सम्भार खर्च नै धेरै आउने, क्षमता कम भएको र सुरक्षा जोखिम उत्पन्न भएपछि ती विमानको उडान बन्द गरेर थन्क्याइयो ।

युरोपियन युनियनले समेत चिनियाँ विमानकै कारण नेपाललाई उडान प्रतिबन्धित गर्दै कालोसूचीमा राख्यो । वर्षौंदेखि घाटा बेहोरेर थन्किएका ५ चिनियाँ विमान बिक्रीका लागि निगमले दोस्रोपटक बोलपत्र आह्वान गरेको छ । पहिलोपटक बेच्न खोज्दा कवाडीमा पनि नबिकेपछि दोस्रोपटक बिक्रीमा राखेको हो । तर दोस्रोपटक पनि बिक्री हुने निश्चित नभएको जानकारहरु बताउँछन् ।

वि.सं. २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले चिनियाँ विमान खरिदको सैद्धान्तिक सहमति दिएको थियो । २०७० सालमा खिलराज रेग्मीको अध्यक्षताको सरकारले विमान खरिदको अन्तिम सम्झौता गर्यो ।

चीनबाट ल्याउने ६ वटा विमानमध्ये २ वटा अनुदानमा र ४ वटा सहुलियत ऋणमा खरिद गर्ने सम्झौता भएको थियो । त्यसअनुसार २०७१ देखि विभिन्न चरणमा गरी ६ वटा सानाठूला चिनियाँ विमान नेपाल वायुसेवा निगमले भित्र्यायो । तर यी विमानले निगमलाई थप घाटाबाहेक केही उपलब्धि भएन । ६ विमानमध्ये एउटा दुर्घनामा परेको थियो । बाँकी रहेका ५ विमानले पनि काम दिएन । ऋण गरेर किनिएका विमानले काम नदिएपछि निगम घाटामा त गयो नै यसको ऋण सरकारमाथि भार पर्यो ।

थन्किएका ती विमान बिक्रीका लागि निगमले गत पुस ५ गते पहिलोपटक सूचना निकालेको थियो । ती विमानहरू खरिद गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीहरुले १५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । तर तर त्यसबेला कुनै पनि खरिद बोलपत्र पेश भएनन् ।

बिक्री नभएपछि निगमले गत माघ २३ गते पुनः बोलपत्र आह्वान ग¥यो । तर दोस्रोपटक निकालेको सूचनाको म्याद पनि यसै हप्ताको बुधवार सकिँदैछ । तर पनि अहिलेसम्म कसैले विमान खरिदका लागि प्रस्ताव पेश नगरेको बुझिएको छ । अबको तीन दिनमा प्रस्ताव आएछन् भने बल्ल ती विमान बिक्रीको बाटो खुला हुनेछ, नत्र भने निगमका लागि झन टाउको दुखाइको विषय बन्नेछ ।

निगमले ५ वटै विमानको न्यूनतम मूल्य समेत तोकेर बोलपत्र आह्वान गरेको छ । जसअनुसार नाइनएन–एकेक्यू कल साइन भएको एम–६० विमानको न्युनतम मूल्य ४९ लाख २२ हजार २ सय ३५ अमेरिकी डलर (करिब ६५ करोड ४६ लाख रुपैयाँ) न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै नाइन एन–एकेआर कल साइन भएको एमए–६० विमानको न्युनतम मूल्य ८२ लाख २५ हजार ५ सय १ अमेरिकी डलर (करिब १ अर्ब ९ करोड रुपैयाँ) राखिएको छ ।

नाइनएन–एकेभी कल साइन भएको वाई–१२–ई विमानको न्युनतम मूल्य २४ लाख १२ हजार ६ सय ७१ अमेरिकी डलर (३२ करोड रुपैयाँ) र कल साइन नाइनएन–एकेटी भएको विमानको २३ लाख ५८ हजार ८ सय ६० अमेरिकी डलर (३१ करोड ३७ लाख रुपैयाँ) तथा कल साइन नाइनएन–एकेएस भएको अर्को विमानको १६ लाख ५८ हजार ५ सय १७ अमेरिकी डलर (२२ करोड रुपैयाँ) न्यूनतम मूल्य राखिएको छ । यी मूल्य वा यसभन्दा माथि जसले धेरै मूल्य कबोल गर्छ उसले ती विमान गरिद गर्न पाउनेछ । खरिदका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा कम्पनी जसले पनि प्रक्रिया पुर्याएर बोलपत्र पेश गर्न सक्नेछन् ।

राजनीतिक दबाब र मिलेमतोमा चीनबाट ल्याइएका ती जहाज किन्ने बेला नै दोब्बर महँगोमा ल्याइएको आरोप लागेको थियो । आर्थिक अनियमितता समेत भएको आशंका गरिएका विमानको मर्मत सम्भार खर्च र खरिद गर्दा लागेको रिनको ब्याज हिसाब गर्दा अर्बौं लागत परिसकेको छ । २०७७ सालदेखि ती जहाजहरू उडान बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमकै ह्याङ्गरमा राखिएको छ । विमानबाट आम्दानी गर्न नसकिए पनि त्यत्तिकै कवाडी हुन नदिन घाटामै भए निगमले पनि ती विमान बिक्री प्रक्रिया अगाडि बढाएको हो । तर पनि बिक्री हुने सम्भावना भने न्यून रहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्