डीपीआरमै अलमलियो चिनियाँ कम्पनी, चक्रपथ दोस्रो खण्ड कहिले बन्छ ?


 


काठमाडौं । चक्रपथ दोस्रो खण्ड विस्तारको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयारी पार्ने भनेको एक वर्ष बित्दा पनि अझै चिनियाँ कम्पनीले पूरा गर्न सकेका छैनन् । कहिले डीपीआर बन्छ भन्नेबारे अन्योल कायमै छ । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन सकेको छैन । चीन सरकारको अनुदानमा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।

दुई महिनाभित्र तयार पार्ने भन्दै ०७९ फागुनमा डीपीआरको जिम्मा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीका प्राविधिक टोलीले लिएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई महिनाभित्र डिजाइनको काम सकिने जनाएको थियो । तर अझै डिजाइन फाइनल हुन सकेको छैन । अहिलेसम्म डीपीआर निर्माणमा कुनै प्रगति नभएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले पुष्टि गरे ।

‘चिनियाँ प्रतिनिधि टोली फेरि नेपाल नआई डीपीआरको थप काम अघि बढ्दैन,’ उनले भने, ‘डीपीआर भएपछि कति लागत लाग्ने थाहा हुन्छ, त्यसपछि मात्र ठेक्काको काम अघि बढ्छ ।’ एक वर्षअघि नेपाल आएको चिनियाँ प्राविधिक टोलीले डिजाइनको काम टुंग्याउन नसकेको हो । अहिलेसम्म यसबारे केही नयाँ अपडेट नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव भीमार्जुन अधिकारीले बताए । ‘चिनियाँ टोली हामीले समन्वय गर्ने तहमा आइसकेका छैनन्,’ उनले भने, ‘डीपीआर पनि फाइनल भइसकेको छैन ।’

यस विषयमा तीन साताअघि चिनियाँ दूतावासका काउन्सिलरसँग बैठक भएको र यसबारे चीन सरकारको मन्त्रिपरिषद्मा पुर्‍याएर निर्णय गर्ने तयारीमा रहेको जानकारी आएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जनाए । ‘कस्तो सडक बनाउने भन्नेबारे चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ, हाम्रो पक्षबाट ढिलाइ भएको छैन । पहिला साइट क्लिउर गर्न केही ढिलाइ भएको थियो,’ उनले भने, ‘अहिले समस्या छैन, डीपीआर बनेपछि निर्माणका लागि सम्झौता हुन्छ ।’

अहिले चिनियाँ पक्षबाटै ढिलाइ भइरहेको ढकालको भनाइ छ । नेपाल सरकारबाट बनाउनुपर्ने नाली, सर्भिस लेन निर्माणको काम भइरहेको छ । ‘डीपीआर सकिएको भए अहिलेसम्म निर्माणको काम सुरु भइसक्थ्यो,’ उनले भने, ‘बढीमा ६ महिनाभित्र डिजाइन सक्ने कुरा भए पनि अहिलेसम्म पाउन सकिएको छैन ।’ कलंकीदेखि बसुन्धरासम्म ७ वटा प्याकेजमा ठेक्का गरेर सर्भिस लेनलगायतका संरचना निर्माणको काम भइरहेको छ ।

अहिले जथाभावी सडक भत्काएर काम गर्दा यो खण्ड धुलाम्मे बनेको छ । सडकका दुवै खण्डको वारिपारि सर्भिस लेन निर्माणका लागि खनेर माटो थुपार्दा ट्राफिक जाम हुने गरेको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न सुरुमै आग्रह गरेको थियो ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार भनिएको थियो । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म मात्र विस्तारको काम गर्नेछ । उसको दूरी ८.२ किमि छ । डीपीआर टुंगिएपछि चीनसँग सम्झौता गरेर उसैले निर्माण गर्ने गरी काम थालिने जनाइएको छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ ।

कलंकीदेखि सीतापाइलासम्म अहिले चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । यसलाई अब ८ लेनमा विस्तार गर्न लागिएको हो । चक्रपथ विस्तारमा नेपाल सरकारको स्रोतबाट निर्माण गर्नुपर्ने कामका लागि चालु आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । नाली, सर्भिस लेन निर्माणलगायतको काम गर्न यो बजेट व्यवस्थापन गरिएको हो । यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकीसम्म १०.३९ किमि सडक चीनले नै ८ लेनमा विस्तार गरिदिएको हो, जुन खण्ड विस्तार गरेर ०७५ माघमा चीनले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । साभार कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्