सबै जात, धर्म र सम्प्रदायबीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य : राष्ट्रपति


 


धनगढी, फागुन १० । राष्ट्रपति रामचन्द्र पौडेलले सबै जात, धर्म, सम्प्रदायबीचको समभाव नै गणतन्त्रको मूल लक्ष्य रहेको बताएका छन् ।

अछाम वैद्यनाथधाम कोटीहोम महायज्ञको बिहीबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सबै धर्म, संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सास्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ बताए ।

उनले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

यस क्षेत्रको विकास, संरक्षण र संवद्र्धनको लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायतका काम हुनु खुशीको कुरा हो भन्दै उनले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रुपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता औल्याए ।

शिवरात्री, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दशै, श्रावण स्नान, बोलवमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको छ ।

६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्