दुईपटक सूचना निकाल्दा पनि बिक्री भएनन् चिनियाँ जहाज


 


काठमाडौं । नेपाल वायुसेवा निगमका चिनियाँ जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

निगमले दुईवटा एमए ६० र तीनवटा वाई–१२ ई जहाज लिलामका लागि दुईपटक सूचना निकालेको थियो । तर, जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन नपरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले चिनियाँ जहाज लिलामीका लागि पहिलो पटक २१ डिसेम्बर २०२३ मा सूचना निकालेको थियो । उक्त समयमा कुनै कम्पनीले चासो नदेखाएपछि निगमले पुनः ६ फेब्रुअरीमा दोस्रो पटक सूचना निकालेको थियो । दोस्रो पटक निकालेको सूचनाको समयावधि (२१ फेब्रुअरी १ः०० बजेसम्म) पनि जहाज खरिदको प्रस्ताव परेन ।

निगम प्रवक्ता पौडेलका अनुसार अब यस विषयमा थप छलफल गरेर प्रक्रिया अगाडि बढाइनेछ ।

कहिले ल्याइएको थियो जहाज ?
नेपाल र चीन सरकारको दुई पक्षीय सहमतिमा उक्त जहाज सहुलियत ऋण र अनुदानमा खरिद गरिएको थियो ।

चिनियाँ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु भएको थियो । उक्त सम्झौताअनुसार २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए–६० जहाज नेपाल भित्रिएको थियो ।

त्यही वर्षको कात्तिकमा अनुदान वापतको अर्को वाई–१२ ई जहाज नेपाल ल्याइएको थियो । त्यसपछि २०७३ मा एमए–६० र वाई–१२ ल्याइएको थियो । निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो ।

जहाज उडान तथा खरिदबाट नेपाललाई १० अर्ब रुपैयाँभन्दा बढी घाटा भएपछि व्यवस्थापनको विषय सुरु भएको थियो ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्