चीनबाट आयातित लाइटर भारततर्फ तस्करी


 


विराटनगर । बीस रुपैयाँभन्दा कम मूल्यको पकेट लाइटर आयातमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालबाट तस्करी मौलाएको छ । चीनबाट आयात हुने लाइटर नेपालका विभिन्न नाकाको बाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ । तेस्रो देशबाट आयातित वस्तु नेपाललाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो ।

नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिअनुसार एक देशबाट आयातित सामान सोझै अर्को देश निर्यात गर्न मिल्दैन । तर, व्यवसायीहरूले चीनबाट आयात गरेको लाइटर गोदामबाट सोझै भारत पठाइरहेका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले तेस्रो देशबाट आएको वस्तु सोझै निकासी गर्न नमिल्ने बताउँदै भन्सारलाई आएको मात्रै थाहा हुने र गएको बारे खासै चासो नहुने जनाए । उनले भने, ‘हामीलाई भारततिर गएको भन्ने थाहा छैन, पठाउनै मिल्दैन ।’

खड्काका अनुसार आयातित वस्तुलाई नेपालीको आफ्नो उत्पादनजस्तै बनाएर पठाउन मिल्ने भए पनि आयात हुनेबित्तिकै गोदामबाटै भारत पठाउन पाइँदैन । ‘यसरी पठाइएको सामान भन्सारले चाहिँ देख्दैन,’ उनले भने, ‘यो अवैध काम हो ।’ खुला सीमाका कारण भारतमा हुने हरेक आर्थिक गतिविधिको प्रत्यक्ष असर छिमेकी नेपालमा पर्ने गरेको छ । विगतमा सुपारी, केराउ, छोकडा, मरीचजस्ता वस्तु पनि तेस्रो देशबाट आयात गरी अवैध रूपमा भारत निकासी हुँदै आएको थियो ।

भारतले गत जुन २९ (असार १४) मा लाइटर आयातमा प्रतिबन्ध लगाएपछि त्यहाँको माग धान्न नेपाली व्यवसायीले अवैध बाटोबाट निकासी थालेका हुन् । सन् २०२२ को सेप्टेम्बरमा दक्षिण भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले राज्यको दक्षिणी भेगमा रोजगारीको प्रमुख स्रोतका रूपमा रहेको सलाई उद्योग धराशायी हुन नदिन लाइटरको आयात प्रतिबन्ध गर्नुपर्ने भन्दै केन्द्र सरकारलाई पत्राचार गरेका थिए । लाइटर आयात प्रतिबन्ध नलगाइए सलाई उद्योगमा कार्यरत एक लाखभन्दा बढीको पेसा संकटमा पर्ने भन्दै स्टालिनले केन्द्र सरकारलाई ध्यानाकर्षण गराएका थिए । भारत सरकारले ‘प्लास्टिकबाट निर्मित अनि पुनः प्रयोग गर्न सकिने लाइटरले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको’ भन्दै प्रतिबन्ध लगाएको थियो ।

भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’ का अनुसार चीनबाट आयात हुने लाइटर भारत सरकारले जुन २९ मा प्रतिबन्ध लगाएको हो । सन् २०२२–२०२३ मा भारतले करिब ६ लाख ६० हजार अमेरिकी डलर मूल्य बराबरको पकेट लाइटर आयात गरेको थियो । आयात रोकिएसँगै भारतमा पकेट लाइटरमा माग व्यापक भएको छ । जसका कारण नेपालमार्फत आयातित लाइटर तस्करीको बाटो भएर भारतको राजधानी दिल्लीलगायतका राज्यमा खपत हुँदै आएको झापाका एक व्यवसायीले कान्तिपुरलाई जानकारी दिए । ‘यताबाट दिल्ली जान्छ,’ ती व्यवसायीले भने, ‘दिल्लीबाट अन्य राज्यमा पुग्छ ।’

सशस्त्र प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लास्थित भारतीय सीमावर्ती नाकाबाट हालै करिब पाँच लाख मूल्य बराबरको लाइटर बरामद गरी भन्सार बुझाएको थियो । मूलतः मधेश प्रदेश र कोशीका विभिन्न नाकाबाट व्यापक रूपमा लाइटर भारत तस्करी भइरहेको छ । झापाका एक व्यवसायीका अनुसार एक कार्टुनमा एक हजार थान लाइटर हुन्छ । त्यसको होलसेल मूल्य करिब सात हजार नेपाली रुपैयाँ हो । भारतमा पुर्‍याउँदा त्यो झन्डै दोब्बर मूल्यमा बिक्री हुने गरेको छ । व्यवसायीले नाकाका सुरक्षा निकायलाई ‘सेटिङ’ गरेका छन् । यो धन्दा संगठित रूपमा सञ्चालन भइरहेको र आर्थिक लाभ लिएर नाकाका सुरक्षाकर्मीले तस्करीमा सघाउ पुर्‍याउने गरेको स्रोतको दाबी छ । ‘नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाइएको छ,’ ती व्यवसायीले भने, ‘सीमापारि एसएसबीलाई भारतकै व्यवसायीले मिलाउँछन् ।’

सीमामा तैनाथ सशस्त्र प्रहरीबाट कुनै किसिमको अवैध गतिविधिलाई प्रोत्साहन गर्ने, गराउने काम भएको पाइए कडा कारवाही गरिने कोशी प्रदेशस्थित सशस्त्र प्रहरीको बराह वाहिनी सुनसरीका डीआईजी अञ्जनीकुमार पोखरेलले बताए । केही समयअघि अवैध तस्करीमा संलग्न केही प्रहरी अधिकृतलाई विभागीय कारबाही गरिएको जनाउँदै पोखरेलले लाइटर तस्करीमा सशस्त्रको संलग्नता नरहेको दाबी गरे ।

पूर्वको विराटनगर, चीनसँग जोडिएको तातोपानी र वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार नाकाबाट मात्रै लाइटर आयात भइरहेको छ । सुक्खा बन्दरगाहबाट करिब दुई करोड, वीरगन्जबाट दुई करोड चार लाख, तातोपानीबाट सबैभन्दा बढी कम्तीमा साढे ७१ करोड र विराटनगरबाट करिब साढे ७ लाख मूल्यको लाइटर आयात भएको छ । ‘लाइटर आयात हुन्छ, तर कता जान्छ, हामीलाई थाहा हुँदैन,’ सुक्खा बन्दरगाह भन्सारका एक अधिकृतले भने, ‘यत्रो लाइटर नेपाललाई किन चाहियो ?’

भन्सार विभागले लाइटरको अस्वाभाविक आयातबारे गम्भीर भएको जनाएको छ । अस्वाभाविक आयातकै कारण भन्सार महसुल पनि बढाइएको छ । नेपालमा आन्तरिक प्रयोगभन्दा निकै बढी मात्रामा लाइटरको आयात भएपछि भन्सार विभागले महसुल बढाएको हो । विभागका अनुसार पुनः प्रयोग गर्न नमिल्ने लाइटरको चार अमेरिकी सेन्ट (पाँच रुपैयाँ ३४ पैसा) बाट बढाएर ६ सेन्ट (सात रुपैयाँ) बनाइएको छ ।

यस्तै, पुनः प्रयोग गर्न मिल्ने लाइटरको भन्सार महसुल पाँच सेन्ट (६ रुपैयाँ ६५ पैसा) बाट सात सेन्ट (९ रुपैयाँ ३१ पैसा) पुर्‍याइएको छ । लाइटर बोकेको एउटा कन्टेनरले करिब १९ लाख रुपैयाँ राजस्व तिर्नुपर्छ । यसअघि १२ लाख मात्रै तिर्दा हुन्थ्यो । ‘आयातलाई निरुत्साहित बनाउन महसुल बढाइएको हो,’ भन्सार विभागका एक अधिकारीले भने, ‘तर, आयात झन् बढेको बढ्यै छ ।’ साभार कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्