जहाज खरिद गरेर १८ करोड कमिसन खाने याेजना छ : सांसद खतिवडा


 


काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जहाज खरिद गरेर १८ करोड कमिसन खान लागिएको सांसद खतिवडाको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’

उनले नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको समेत बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाउँद्यै सांसद खतिवडाले भने, ‘निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोज्नुभएको छ ।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए ।

यस्तै उनले पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको समेत बताए ।

मन्त्री किराती भने लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको सांसद खतिवडाले आरोप लगाए ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्