न्यायाधीश डा.थपलिया र निरौला बर्खास्त


 


काठमाडौं । उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गरिएको छ। आज बसेको न्याय परिषद बैठकको सिफारिसमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश थपलिया र न्यायाधीश निरौलालाई पदमुक्त गरेका हुन्।

उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ परिषदले बर्खास्त गर्न सिफारिस गरेको थियो। आजै बसेको बैठकले काठमाडौँ जिल्लाका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराएर काठमाडौंबाट महोतरी सरुवा गरिएको छ।

थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा मुद्दाहरू मिलाउने र मोलाहिजाको काम गरेको लगायतका आरोप लागेको थियो।

संविधानको धारा १४२ उपधारा १ (ग) अनुसार उच्च अदालतका न्यायाधीश र १४९ को उपधारा ६ (ग) मा जिल्ला न्यायाधीशको कार्यक्षमता अभाव खराब आचरण लगायतमा कारबाही भए पद मुक्त गर्न सकिने व्यवस्था छ।

अघिल्लो वर्ष न्याय परिषद बैठकले ५ जना न्यायाधीशलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। न्याय परिषदमा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशहरूविरुद्ध ४५२ वटा उजुरी परेका थिए। तीमध्ये तीनजना न्यायाधीशको विषय गम्भीर देखिएको भन्दै छानबिन गर्न जाँचबुझ समिति गठन भएको थियो।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्