शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु, चार घाइते


 


बारा, फागुन १४ । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक जनाको मृत्यु भएको छ ।

शंकास्पद वस्तु पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको हो । मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला अचानक बमजस्तै देखिने वस्तु विस्फोट भएको थियो ।

विस्फोटबाट अन्य चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।

घाइते ती जनाको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको बताइएको छ । सो वस्तु कहाँबाट र कसरी विस्फोट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्