इलाम र बझाङमा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक


 


काठमाडौं, फागुन १४ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १९१० मा उपनिर्वाचनको लागि सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गतेदेखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगले जनाएको छ ।

चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

निर्वाचन कार्यक्रमअनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्