सुशासनका लागि कर्मचारीलाई ध्यान चाहियोः गृहमन्त्री श्रेष्ठ


 


काठमाडौ, फागुन १८ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनलागि ध्यान चाहिएको बताउनु भएको छ ।
शुक्रबार जीवन विज्ञानको १३ औं वार्षिकोत्सबमा बोल्दै श्रेष्ठले सरकारले सुशासनको अभियान चालेको र कानुनी कारबाहीले मात्र सुशासन आउने अवस्था नरहेकाले कर्मचारीलाई सच्चरित्रवान बनाउन ध्यान आवश्यक रहेको बताउनुभयो । ‘सुशासनका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्ने त छदैछ त्यसका पछिल्ला कारबाहीहरु तपाईंहरुले देखिरहनुभएकै छ,’ उहाँले भन्नुभयो ‘जनतालाई लुटने, ठग्ने, भ्रष्टचार गर्ने प्रवृति बढदो छ त्यसलाई कानुनी कारबाहीलेमात्र हुदैन मानिसलाई राम्रो गर्ने बनाउन, उसलाई खुसी, स्वस्थ्य र सच्चरित्रवान बनाउनु पर्छ त्यसका लागि ध्यान आवश्यक छ ।’
कर्मचारीलाई खुसी, स्वास्थ्य, सक्रिय र उर्जाशील बनाउन गृहमन्त्रालयले स्वजागरण अभियान थालेका बताउँदै मन्त्री श्रेष्ठ यसका लागि जीवन विज्ञानसगँ सहकार्य गरेको बताउनुभयो । जीवन विज्ञानले योगका प्रमाणित र बैज्ञानिक विधिहरु प्रयोग गरेको साथै कुनै पनि सम्प्रदाय विशेषको नभएर समग्र मानवताका लागि भएको पाएकाले सरकारले सहकार्य गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले जीवन विज्ञान मानिसको घरघरमा सुख, शान्ति र समृद्धि पु¥याउँन स्थापना भएको बताउनुभयो । ‘अहिले हरेक समान घरमा डेभरी हुन्छन् । तर मानिसलाई चाहिएको शान्ति डेलिभरी गर्ने संस्था छैनन् । त्यसको काम जीवन विज्ञानले गर्छ,’ शर्माले भन्नुभयो ‘मानिसमा लुकेर रहेको क्षमता, प्रतिभा, खुसी, शान्ति, आनन्द उत्खनन्का लागि बैज्ञानिक विधिहरुको अभ्यास जीवन विज्ञानले गर्छ ।’ जीवन विकास विशेषज्ञ रमेश नेपालले अध्यात्मको असली ज्ञान र प्रयोगका लागि जीवन विज्ञान स्थापना भएको बताउँदै कुनै जाती, भाषा, धर्म, सम्प्रदायको मात्र नभएर अध्यात्ममा लाग्न चाहने सबैलाई स्वागत गर्ने गरेको बताउनुभयो । ‘यसलाई मानवता सारा विश्वमा फैलाउने र मानवताको साझा मञ्च बनाउने हो’ उहाँले भन्नु भयो ।
कार्यक्रममा लुम्बनी प्रदेशकी प्रमुख सचिव राधिका अर्यालले जीवन विज्ञानले चैत्र १७ गतेदेखि ५ हजार १ जनाको सहभागीतामा बुद्धको जन्मथालो लुम्बिनीमा गर्न लागेको सात दिने विराट चक्र विज्ञान कार्यक्रमलाई लुम्बिनी सरकारबाट गर्नुपर्ने समन्वय र सहयोग गर्न पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा जीवन विज्ञानको प्रगतिका विषयमा सचिव किरण रुपाखेती र जीवन विज्ञानले सञ्चालन गरेको नव प्रतिभा विज्ञान कार्यक्रमका बारेमा संयोजक आरती ढकालले प्रगति विवरण सुनाउनु भएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ र शिवा व्याण्डले भक्ति संगित प्रस्तुत गरेका थिए ।
आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जीवन विज्ञानका नेपालभर तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन भइरहेको र अनलाइन मार्फत पनि विश्वका ६५ ओटा देशमा प्रयोगशालाहरु सञ्चालन भइरहेको संस्थाका सचिव किरण रुपाखेतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्