अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी : विष्णु पौडेल


 


जनकपुरधाम, फागुन २० । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नीति र प्रक्रिया अङ्गीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताउनुभयो ।

“एमालले अर्थमन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अङ्गीकार गरेकाले अथर्गतन्त्र सुधार भएको देखिन्थ्यो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रका सबै सूचक समस्यामा छन्”, पौडेलले भन्नुभयो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताउनुभयो । 

उपाध्यक्ष पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको बताउनुभयो । सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताउनुभयो । 

“हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ । पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ”, पौडेलले सञ्चारकर्मीसँग भन्नुभयो । 

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्