अनलाइनमार्फत ४९ लाख बढी ठगेको आरोपमा चार जना पक्राउ


 


काठमाडौं, फागुन २० । अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा नक्कली आइडीको प्रयोग गरी ४९ लाख बढी ठगेको आरोपमा प्रहरीले सर्लाही घर भई पुरानो बानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, २२ वर्षीय रामसेवक राम र पर्साका २४ वर्षीय आकाश साह सोनारलाई पक्राउ गरेको हो ।

आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरूले फेसबुक, ह्वाट्सएप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायतबाट विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरेर महंगो आइफोनहरू सस्तोमा दिने प्रलोभनमा पार्थे । त्यसरी उनीहरूले रकम पठाउन लगाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको हो।

त्यस्तै अमेरिका लगायत देशबाट सुनका गरगहना, जुत्ता लगायत पठाइदिने भन्दै पार्सल भन्सारमा अड्किएको भन्दै छुटाउनका लागि रकम लिने गरेका थिए।

यसरी ठगिएको भन्दै पाँच जना पीडित प्रहरी कार्यालयमा पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्