हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा


 


खोटाङ, २१ फागुन । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याइएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणका लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

हलेसी बजारस्थित ट्राफिक चोकमा चिस्यान केन्द्रसँगै कृषि मार्टको भवन निर्माण गरिएको छ । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार आठ सय ३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज मार्टमा लगेर कृषिउपज बिक्री गर्नेछन् ।

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्य निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेका कृषिउपज मार्टमा बिक्री हुने जनाइएको छ ।

स्थानीय राजनीतिक दल, सरोकारवाला निकायको उपस्थितिमा नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले औपचारिक उद्घाटन गर्नुभएको ‘हलेसी कृषि मार्ट’मा कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज सङ्कलन गरेर बिक्री गर्न सुरु गरिएको छ । उद्घाटन गर्नुअघि कृषक आलु, साग, धनियाँ, गोभी, मूलालगायत तरकारी बिक्री गर्न कृषि मार्टमा आएका थिए ।

आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुसी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताउनुभयो । “अरुबेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपथ्र्यो, आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “कृषिउपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउनु आवश्यक छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।” नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयका आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताउनुभयो ।

“त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो, यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ, यहाँ आउने पर्यटकलाई जैविक खानेकुरा पु¥याउन सकिएको छैन, नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ, कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्रै नाफा लिएर बिक्री गर्छन्, विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो, कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको समस्या समाधान भएको छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरी सञ्चालनका लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनका लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन् । त्यसकारण हलेसी क्षेत्रका होटल प्रायःसधैँ चलायमान हुन्छन् । व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो ।

नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजन आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषक ढुक्क छन् । रासस

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्