हतकडीसहित भागेका थुनुवालाई समात्न खोज्दा जवानको मृत्यु


 


धनगढी, फागुन २८ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ ।

थुनुवाई समात्न खोज्दा कैलालीका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर मुद्दा शाखामा सोधपुछ चलिरहेको बेला हतकडीसहित भागेका थिए ।

भागेका थुनुवालाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए । त्यसक्रममा उनी भिरमा खसेका थिए ।

लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारीबाट नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्