भृकुटीमण्डपमा पुष्प मेला सुरु


 



काठमाडौँ, १ चैत । काठमाडौँको भृकुटीमण्डपमा २५औँ पुष्प मेला बिहिबारदेखि सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सुरु भएको उक्त मेला यही चैत ४ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । मेला करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उहाँले रू एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताउनुभयो ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि रू एक सय ५० र विद्यार्थीका लागि रू एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ । २५औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको हो । 

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । वार्षिक रू तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति: १ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्