भक्तपुरमा शनिबारदेखि निरंकारी सन्त समागम हुँदै, तयारी पूरा


 


भक्तपुर, चैत २ । भक्तपुरमा शनिबारदेखि सुरु हुने २३औँ निरंकारी सन्त समागमको तयारी पूरा भएको छ । ‘एकलाई जान, एकलाई मान र एक होऔँ’ भन्ने मूल नाराका साथ विश्वभर सञ्चालित निरंकारी मिसनको यहाँ हुने समागमको तयारी पूरा भएको सन्त निरंकारी मण्डल भारत दिल्लीका विदेश विभाग इञ्चार्ज विनोद बोहराले जानकारी दिनुभयो ।

आज समागमस्थल भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजित पत्रकार सम्मेलनमा बोहोराले यो अभियान कुनै धर्म प्रचार नभएको बताउनुभयो । यस अभियानमा सबै धर्म, विचार, जातिको सहभागिता रहेको बताउँदै एकले अर्कालाई चिन्ने, जान्ने, मान्ने र अन्र्तमनबाट परमात्मालाई चिन्दै सबै एक भएर विश्वलाई शान्त र सुन्दर बनाउने उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

अन्र्तमनको सुकून् एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले यो अभियान सन् १९२९ मा पेशावरमाा बाबा बुटा सिंहले सुरु गर्नुभएको थियो । सो अभियान सन् १९४३ देखि बाबा अवतार सिंह, सन् २०६२ मा बाबा गुरबचन सिंह, सन् १९८० देखि बाबा हरदेव सिंह, सन् २०१६ देखि माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजी महाराजले सञ्चालन गर्दै आउनुभएको छ ।

यही चैत ३ र ४ गते हुने समागममा भारतबाट नौ हजार, अन्य देशबाट पाँच हजारसहित करिब ५० हजार अनुयायी सहभागी हुने अपेक्षा गरिएको बोहराले बताउनुभयो । “नेपालमा हुने सन्त समागममा प्रवचन दिन सत्गुरु माता सुदीक्षाजी महाराजको आगमन हुनेछ । शनिबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।”

कार्यक्रममा मण्डलका क्षेत्रीय इञ्चार्ज एवं काठमाडौँका प्रमुख बाबुराज महर्जनले भक्तपुरस्थित नेपाल ट्रस्टका नाममा रहेको एक सय आठ रोपनी क्षेत्रफल रहेको सल्लाघारी चौरमा अनुयायीका लागि निःशुल्क खाने, बस्ने तथा शौचालयको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले समागमका लागि भारतबाट करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक आउने र नेपालबाट सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवक खटिने बताउनुभयो । समागममा नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये अधिकांशको सहभागिता हुने जनाइएको छ । 

मण्डलका सञ्चार विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुईदिने प्रवचनसहितको विश्व अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । एक सयभन्दा बढी देशमा सञ्चालनमा रहेको यस अभियानमा नेपालमा यसअघि सन् २०१७ मा टीकापुरमा भएको थियो । अभियान अनुयायीबाट प्राप्त स्वेच्छिक अनुदानबाट सञ्चालन भएको उहाँको भनाइ छ । 

कार्यक्रममा सङ्घीय सांसद रञ्जुकुमारी झाले समागममा नेपाल र भारतका उच्चपदस्थ व्यक्तिहरुको आगमन हुने बताउनुभयो । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले विश्व भाइचारा एवं शान्ति स्थापनाका लागि नेपालमा पनि यो अभियान सञ्चालन भएको बताउनुभयो ।

उहाँले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताउनुभयो । उहाँले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताउनुभयो ।

प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्