सुन तस्करी प्रकरण : नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो


 


काठमाडौं, चैत ३ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ । त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ ।

डीएसपी दाहाल र कुँवरलाई पनि प्रहरी प्रधान कार्यालय तानिसकिएको छ । सीआईबी प्रमुख बज्राचार्यलाई पनि त्यहाँबाट हटाएर नयाँ प्रमुख पठाइएको छ ।

नुवाकोटबाट हटाइएका एसपी थापा र डीएसपी दाहालमाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए ।

चलाउनेलाई एसपी थापाको कोठामा कागज गराएर अधिकृतहरुले छाडेका थिए । त्यसको केही दिनपछि ‘बाजेको सेकुवा रेष्टुरेन्ट’मा बोलाएर आफूलाई पैसा मागिएको जीवनले बयान दिएका छन् ।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्