पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछः अध्यक्ष झा


 


सिरहा, ४ चैत । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।

जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन गर्दै उहाँले पत्रकारिताबिना लोकतन्त्र अगाडि बढ्न नसक्ने बताउनुभयो ।

अध्यक्ष झाले बदलिँदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पत्रकारले आचारसंहिताको पालनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले यसको विकासमा सबैको पहलकदमी जरुरी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगायतको उपस्थिति थियो ।

उक्त तालिमका सहभागीलाई पत्रकार भरत जर्घामगर, वीरेन्द्र शर्मा, मोहन भण्डारीलगायतले प्रशिक्षण दिनुहुनेछ । सिरहा विकास मञ्च र नेपाल प्रेस इन्टिच्यूट बरियारपट्टीको संयुक्त आयोजनमा आयोजित उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्