धनगढीका मेयरलाई धम्की दिने भनिएका युवकले गरे विषादी सेवन


 


धनगढी, चैत ६ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने भनिएका युवकले उपमहानगरपालिका कार्यालय परिसरमै विषादी सेवन गरेका छन् ।

धम्कीको विषयमा छलफलका लागि उपमहानगरपालिकाको कार्यालयमा पुगेका धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । उनले मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा विषादी सेवन गरेको भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए ।

अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था अहिले गम्भीर रहेको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी दिए ।

सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि पठाएको थियो । सोही अनुसार जिल्ला प्रहरी कार्यालयले पनि उनलाई छलफलका लागि बोलाइएको थियो । तर त्यसअघि उनी बिहान उपमहानगरपालिका कार्यालयमा पुगेका थिए । जहाँ उनले विषादी सेवन गरेका थिए ।

यता रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर विषादी खुवाएको आरोप लगाएका छन् । उनका अनुसार बिहान ८ बजे नै सादा पोसाकका नगरप्रहरीले घरमै पुगेर उनलाई लगेका हुन् ।

तर नगरप्रहरीले रानालाई नियन्त्रणमा लिएको कुरा अस्वीकार गरेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्