सर्लाहीमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, १० जना घाइते

सर्लाही, चैत ८ । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा बुधबारराति ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना हुँदा ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको हो ।
गोलेको उपचारका क्रममा राति नै नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार