विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र


 



धनकुटा, ८ चैत । विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र बसेको छ ।

पाख्रिबास नगरपालिकाको वनभोजस्थलमा निर्मित हवाईजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँले खडेरी र वर्षात्को मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीयस्थल सनसारीमाई सिमसार क्षेत्रमा सम्पन्न भएको बताउनुभयो । आम नागरिक र सरोकारवालालाई दैवी प्रकोप तथा विपद्का विषयमा जागरुक बनाएर यसको न्यूनीकरण गर्न नयाँ तरिकाले बैठक राखिएको उहाँको भनाइ छ ।

चालक बस्ने हवाईजहाजको अघिल्लो भागमा स्थानीय तहका प्रमुख र यात्रु बस्ने सिटमा विपद्सम्बन्धी काम गर्ने जिल्ला तथा अन्तर्गतका सात वटै स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए ।

विभिन्न विषयमा भएको छलफलपछि समितिले मनसुन प्रतिरक्षा योजना र विपद् प्रतिरक्षा योजना बनाउने जिम्मा नेपाल रेडक्रस सोसाइटी धनकुटालाई दिइएको छ ।बैठकमा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आफ्नो स्थानीय तहमा विपद न्यूनीकरणका लागि भइरहेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति: ८ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्