नुवाकोटमा तीन हप्तादेखि एसपी रिक्त


 


काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोट तीन हप्तादेखि निमित्तको भरम चलेको छ । गृह मन्त्रालय र प्रहरी नेतृत्वले जिल्लामा एसपी पठाउन सकेको छैन ।

नुवाकोटका एसपी सञ्जयसिंह थापालाई सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि गत १ चैतमा हटाइएको थियो । तर, नयाँ एसपी नुवाकोट पठाइएको छैन ।

यसमा गृह र प्रहरी नेतृत्वको कमजोरी देखिएको छ । जाँचबुझ आयोगले एआइजी किरण बज्राचार्य, एसपी थापा र डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो ।

उनीहरूमाथि कारबाहीका लागि गृहले सहसचिव भरतमणि रिजालको नेतृत्वमा एक समिति गठन गरेको छ । समितिको सिफारिसअनुसार कारबाही हुने बताइएको छ ।

उता डिएसपी कुँवरले भने कारबाही पुर्नविचारको माग गरी गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिएका छन्। अन्य प्रहरी अधिकारी पनि आफूहरूमाथिको कारबाही रोक्न दौडधुपमा लागेका छन् ।

सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई फरार बनाएको, वाल्डो क्यासिनोलाई उन्मुक्ति दिएको लगायतको आरोप प्रहरी अधिकृतमाथि छ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्