गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा, पुनः कुर्सीमै पुग्ने रणनीति


 


काठमाडौं, चैत २१। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

हिजो (मंगलबार) संसद्‌मा विश्वासको मत लिनुपर्ने भएपनि विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि पाण्डेले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।

गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन ।

दुई सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि कांग्रेसको भागमा नै मुख्यमन्त्री पर्ने देखिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्