पठाओले आफ्नो सेवा नेपालका थप १७ सहरमा विस्तार गर्दै


 


काठमाडौं, चैत २१ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले देशभरका थप १७ सहरमा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

अहिले बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ ।

मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ । त्यसैगरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो ।

भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना रहेको बस्न्यातले जानकारी दिए । उनले सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नेछन् ।

कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइने बस्न्यातले बताए । इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१ ५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन् ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन ९ट्याक्सी चालक० र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्