सुनसरीका ६ पालिकामा कर्फ्यु कायमै


 


इटहरी । सुनसरीका ६ पालिकामा निषेध आदेश (कर्फ्यु) कायमै राखिएको छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार सूचना जारी गरी यस्तो जानकारी दिएका हुन्।

शनिबार राति ११ बजेदेखि आइतबार बिहान १० बजेसम्मका इनरुवा नगरपालिका क्षेत्र, देवानगन्ज गाउँपालिका वडा नं २,३,४,५ र ६, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र, कोशी गाउँपालिका क्षेत्रमा आंशिक रूपमा कर्फ्यु लगाएको हो।

यसैगरी हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा कर्फ्यु जारी नै रहेको सूचनामा उल्लेख छ।

शान्तिसुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गरी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐनबमोजिम मिति २०८० अर्को सूचना जारी नभएसम्मका लागि निषेध आदेश लागू गरिएको हो।

आचार्यले अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न, भेला हुन र सामस्हिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला र प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्न नगराउन अनुरोध गरेका छन्।

आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने व्यहोरा पनि सूचनामा उल्लेख छ। स्थानीय समुदायका दुई पक्षबीच झडप भई तनावपूर्ण स्थिति उत्पन्न भएपछि शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले निषेध आदेश जारी गरिएको हो।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्