कांग्रेस अधिवेशन सार्न जिल्ला सभापतिको माग


 


काठमाडौं, असार २

नेपाली कांग्रेसका सभापतिहरूले भूकम्पका कारण गाउँदेखि जिल्ला अधिवेशन तोकिएको समयमा गर्न सम्भव नभएको बताएका छन्।

वैशाख १२ गतेको शक्तिशाली भूकम्पले काठमाडौं उपत्यकासहित धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रे, रसुवा, गोरखासहितका जिल्लामा गाउँदेखि जिल्ला तहको अधिवेशन केही समय सार्नुपर्ने जिल्ला सभापतिहरूले धारणा राखेका छन्। संवैधानिक व्यवस्थाअनुसार भदौ २४ देखि गर्ने भनिएको पार्टीको १३ औं महाधिवेशन सार्न कठिन भए पनि तल्लो तहको अधिवेशन बर्खामा गर्न सम्भव नभएको उनीहरूले बताएका छन्।
भूकम्पका कारण गाउँ–बस्ती खण्डहरमा परिणत भएको बताउँदै सभापतिहरूले मध्यबर्खामा अधिवेशन गर्न ठाउँसमेत अभाव रहेको बताए। भूकम्पले जमिन चिरिएको र हल्लिएको हुनाले वर्षासँगै बाढीपहिरोको उच्च जोखिम रहेको जिल्ला सभापतिहरू बताउँछन्। अन्तरिम संविधानमा राजनीतिक दलको अधिवेशन कम्तीमा पाँच वर्षभित्र गर्नुपर्ने उल्लेख छ। तर, कांग्रेसकै कतिपय नेता महाधिवेशनअघि नै नयाँ संविधान जारी हुने भन्दै सोहीअनुसार पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। मुलुकको भौगोलिक जटिलताका कारण पनि बर्खामा महाधिवेशन सम्भव नरहेको भन्दै केही नेताले फागुनमा सार्न लबिङ थालेका छन्। कांग्रेसको १२ ‍औ महाधिवेशन भएको पाँच वर्ष आगामी असोजमा ५ गते पूरा हुँदैछ। त्यसअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै पार्टीले भदौ २४ देखि २८ सम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। नगर, वडा, गाउँ अधिवेशन साउन १४ गते गर्ने निर्णय गर्दै उसले २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन साउन २२ गते र साउन २६ गते ७५ वटै जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको छ।
त्यस्तै, फागुन मसान्तभित्र नयाँ क्रियाशील सदस्यता र नवीकरण फारम बुझाइसक्नुपर्ने र चैत–वैशाखमा सदस्यता छानबिन सक्ने निर्णय गरे पनि अझै एक दर्जनभन्दा बढी जिल्लाको आन्तरिक विवादका कारण सदस्यता फारम केन्द्रीय कार्यालय आएको छैन।

नागरिक दैनिक

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्