चितवनमा कैदीबन्दीको चाप, व्यवस्थापनमा समस्या


 


चितवन, चैत ३० । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ ।

कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् । कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताउनुभयो । 

उहाँका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको हो । उहाँले भन्नुभयो, “अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौँ ।”

मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उहाँले बताउनुभयो । त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो । गर्मी मौसम सुरु भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “छिमेकी जिल्ला नवलपुर (बर्दघाट–सुस्तापूर्व) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो ।” छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । 

कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्