नाउपा विवाद : रञ्जिताले निलम्बन गरिन् सुदूरपश्चिम संसदीय दलका नेता


 


धनगढी, चैत ३० । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले रेशम चौधरी पक्षधर मानिने घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी हुन् । उनले घनश्यामलाई निलम्बन गरेको पत्र प्रदेश सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् ।

पटकपटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ । अध्यक्ष श्रेष्ठले यसअघि समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्