मोरङमा थारू समुदायले ‘सिरुवा पर्व’ मनाए


 


मोरङ, १ वैशाख । मोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन् । यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका हुन् ।

थारू कल्याणकारी सभा मोरङद्वारा मोरङको बुढीगङ्गा–७ धराहरा टोलमा आज ‘सिरुवा मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर’ (नयाँ वर्ष) को उपलक्ष्यमा ‘जुडी सितौल’ (शुभकामना) आदानप्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा सहभागीले आधुनिक समयमा युवायुवतीलाई आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागृत गर्न पाएको खुसी व्यक्त गरेका छन् । उहाँहरूले विगत लामो समयपछि थारू संस्कृतिसम्बन्धी यो पर्व सार्वजनिक रूपमा मनाउनुका साथै समाजमा जानकारी दिन पाएकामा खुसी व्यक्त गर्नुभएका छ ।

कार्यक्रममा कोशी प्रदेशसभाका पूर्वसदस्य चुमनारायण तवदार, बुढी गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदार, सोही पालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, थारू कल्याणकारी सभाका अध्यक्ष प्रदीपकुमार विश्वास, उपाध्यक्ष जागेश्वर विश्वास, सभाका पूर्वसभापति रुद्रनारायष्ण चौधरी र वडाध्यक्ष पङ्कज चौधरीले थारू समुदायका पर्व, रीतिरिवाज, खानपिन, भाषा, पोशाकको संरक्षण गरेमा मुलुक संस्कृतिको क्षेत्रमा धनी बनाउन सकिने विचार राख्नुभएको थियो ।

यस पर्वमा परिवारका ज्येष्ठ सदस्यको खुट्टामा पानी राखी आशीर्वाद लिने तथा ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टाउको (शिर)मा पानी छ्यापी वर्षभरि सुख, समृद्धि, स्वास्थ्य, दीर्घायु जीवनको आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा थारू समुदायको घरमा गुलगुल्ला, बरी, वगिया, चिछवरी र पुवालगायतका पकवान बनाई परिवारका सदस्य एवं पाहुनालाई खुवाउने चलन छ ।

सोही अवसरमा थारू कल्याणकारी सभाका पूर्वसभापति रुद्रनारायण चौधरी, नन्दु सरदार, खडगनारायण विश्वास, चन्द्रनारायण चौधरी, सुनिल विश्वास, चुमनारायण तवदार, देवराज चौधरी, प्रदीप भगतको फोटो सार्वजनिक गर्नुका साथै सम्मान गरिएको छ । सभाका अध्यक्ष विश्वासले जग्गादाता कुनुकलाल चौधरी, श्रीमती टकावती चौधरीलाई र ज्येष्ठ नागरिक ब्रह्मनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्