सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने औपचारिक सहमति


 


काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ ।

बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले जानकारी दिए । यद्यपि सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने यसअघि पनि अनौपचारिक सहमति भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो ।

आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएसंगै नाउपाले आइतबार नै अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको छ । तर पार्टीमा मुख्यमन्त्री कसले नेतृत्व गर्ने भनेर विवाद छ।

नाउपा सुदूरपश्चिमका सांसदहरू पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएका छन् ।

अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् भने संरक्षक चौधरी पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन् ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्