गठबन्धनको विर्णयविपरित सुदूरपश्चिममा सरकार बन्दै, काँग्रेस र एकीकृत समाजवादीको समर्थन


 


धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलको निर्णयविपरित नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको छ ।

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजबादीको समर्थनमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मण किशोर चौधरीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएको हो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धनले आइतबार बिहान मात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो । त्यस लगत्तै धनगढीमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका बहुमत सांसदहरुको संयुक्त बैठकले नागरिक उन्मुक्तिका लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको बताइएको छ ।

काँग्रेसका एक जना नेताका अनुसार तीन दलबीच सहमतिमा हस्ताक्षर समेत भइसकेको छ ।

उता नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सांसद कैलाश चौधरीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउँदै आएकी छन् । तर, उनको पक्षमा हाल कायम रहेका ६ जना सांसदमध्ये दुई जना मात्रै रहेको बताइन्छ ।

नाउपाका नेपा लक्ष्मण किशोरको पक्षमा भने काँग्रेसका १८, एकीकृत समाजवादीका ४ र नाउपाका ४ सांसदको समर्थन रहेको बताइन्छ ।

नाउपा अध्यक्ष रञ्जिताले संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाएर केही दिनअघि प्रदेश सांसद कैलाशलाई दलको नेता चयन गरेकी थिइन् ।

यद्दपि प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने राजनीतिक दलले गर्ने आन्तरिक कारबाहीप्रति प्रदेश सभाको चासो नहुने र संसदीय दललाई मात्र चिन्ने स्पष्ट गरिसकेका छन् ।

सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको निर्धारित समय आजै सकिँदैछ ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्