सुदूरपश्चिममा कांग्रेससंग मिलेर सरकार गठन हुन लागेपछि प्रचण्ड र ओली छलफलमा


 


काठमाडौं, वैशाख २ । सुदूरपश्चिम प्रदेशमा कांग्रेससंग मिलेर सरकार गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष)का सांसद लक्षमण किशोर चौधरीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिएपछि दुई नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको बैठकमा उनीहरूले छलफल गरेका हुन् ।

सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान बालुवाटारमा भएको गठबन्धन बैठकमा अडान राखेका थिए । तर नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ पक्ष) लाई मुख्यमन्त्री दिने गठबन्धनमा सहमति भएको थियो ।

नाउपाभित्र अध्यक्ष श्रेष्ठ पक्षले कैलाश चौधरीलाई नाउपा संसदीय दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् भने संरक्षक रेशम पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने बताइरहेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्