१९ जना प्रहरी नायव उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान


 


काठमाडौं, बैशाख २ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो ।

नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको
रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी, इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्