जसपाका पूर्वसांसद साहमाथि आक्रमण, तीन जना पक्राउ


 


काठमाडौं, चैत ३ । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।

हिजो (आइतबार) राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।

सुरुमा साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साह थप उपचारका लागि काठमाडौं आउने तयारीमा रहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्