सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेसको निर्णय


 


धनगढी, वैशाख ३ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कांग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।

कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले यस विषयमा कानुनी परामर्श गरेर निर्णय लिने तयारी गरेका छन् ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्