सुदूरपश्चिम : नाउपाले प्रदेश प्रमुखलाई बुझायो सोडारीलाई समर्थन नरहेको पत्र


 


काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा (एकीकृत समाजबादी)का नेता दीर्घ सोडारीलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

नाउपाका दुई सांसदसहितको हस्ताक्षरमा बहुमत पुगेको भन्दै सोडारीले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले दाबी पेस गर्ने वित्तिकै पार्टीका अन्य सांसद र कांग्रेसका सांसदसहित गएका नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा सोडारीलाई समर्थन नरहेको पत्र बुझाएका हुन् ।

नेता चौधरीसहित कामचलाउ मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, मन्त्री प्रकाश देउवा र नाउपाका अन्य थप चार जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

पत्र बुझाइसकेपछि पत्रकारसंग कुरा गर्दै नेता चौधरीले मुख्यमन्त्रीमा सोडारीलाई नाउपाको समर्थन रहेको बताए । उनले पार्टीका अन्य दुई जना सांसदले गरेको भनिएको हस्ताक्षर आधिकारिक नभएको प्रष्ट पारे ।

सोडारीलाई मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चौधरी र टीका थापाले समर्थन गर्दै हस्ताक्षर गरेका छन् । उनीहरु पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् भने घनश्याम चौधरी पार्टी संरक्षक रेशम चौधरी पक्ष हुन् ।

सात सदस्यीय नाउपाको संसदीय दलमा पाँच जना रेशम पक्षधर छन् भने दुई जना अध्यक्ष श्रेष्ठ पक्षमा छन् । घनश्याम चौधरी आधिकारिक रुपमा पार्टी संसदीय दलका नेता हुन् ।

केही दिनअघि अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई नेता तोकिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएकी थिइन्, तर प्रदेशसभा सचिवालयले उक्त पत्र कार्यान्वयन गरेको छैन ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्