सुदूरपश्चिममा सकस, एमाले सरकार बाहिरै


 


धनगढी, वैशाख ७ । सुदूरपश्चिम पदेशमा आफ्नै समर्थनमा (एकीकृत समाजबादी)का दीर्घ सोडारी मुख्यमन्त्री बनेपनि एमाले आफै सरकारमा नजाने स्थितिमा पुगेको छ ।

सत्ता गठबन्धनबाट सरकारको नेतृत्व बाहिर नजावस् भनेर सरकारलाई समर्थन गरेपनि एमाले आफै सरकारमा नजानुले यो सरकारको आयु कतिसम्म रहन्छ भन्ने प्रश्न पनि खडा गरेको छ । यसले गठबन्धन भित्रका दलबहरुबीचको असन्तुष्टिलाई पनि झल्काएको छ ।

मुख्यमन्त्रीको सपथ लिइसकेपछि मन्त्रिपरिषद विस्तारका लागि भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । तर सत्ताधारी दल एमाले नै सरकारमा नजाने स्थितिमा मुख्यमन्त्री सोडारी अन्यौलमा छन् ।

आज (शुक्रबार) बिहान धनगढीमा मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका दलहरूबीच छलफलमा जुट्दा एमाले सरकारमा जान अनिच्छुक देखिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुन निर्देशन गरेपछि एमाले प्रदेशमा सरकारमा नजाने भएको हो ।

यो अवस्थामा सोडारीले बाँकी घटकसंग भागबण्डाका लागि छलफल गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष)का कैलाश चौधरीले बिहीबार मुख्यमन्त्रीसंगै भौतिक पूर्वाधार मन्त्रालयको सपथ लिइसकेपछि अन्य कुनैपनि दलबाट मन्त्रीको नाम आएको छैन । बाँकी दल भित्रै पनि कसरलाई मन्त्री बनाउने भन्नेबारे सकस भइरहेको बताइएको छ ।

हाल मुख्यमन्त्री सोडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति (रञ्जिता पक्षका दुई सांसद) र एक स्वतन्त्रले समर्थन गरेका छन् ।

प्रदेको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद (रेशम चौधरी पक्ष) र राप्रपा प्रतिपक्षमा छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्