भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास


 


काठमाडौँ । भारत सरकारको सहयोगमा दार्चुलाको व्यास गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ । त्यस्तै दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको हो ।

व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु. २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरे । त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु. ३.३७ करोडमा निर्माण गरिएको श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ । त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो ।

श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो । यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेकाे दूतावासले जनाएकाे छ ।

कार्यक्रममा बोल्दै व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

त्यसैगरी दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने बताउनु भयाे ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४ सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्