कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै


 


काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुनेछन् ।

ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एकएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्