पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा


 



कास्की, २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोली पोखरामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।

मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार अपराह्न पोखरा सभागृहमा हुने अवार्ड समारोहको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको जनाएको हो । गत एक वर्षको अवधिमा खेलकुद क्षेत्रमा गरेको योगदानका आधारमा खेलाडी तथा खेल सङ्घ संस्था लगायतलाई अवार्ड प्रदान गर्नेछ ।

मञ्चले वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी सात विधामा अवार्ड प्रदान गरिने मञ्चका दीननाथ बरालले जानकारी दिनुभयो ।

बरालका अनुससार वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चार वटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भइसकेको छ ।

वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहनुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।

यसैगरी १७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा पर्नुभएको छ ।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् । यसैगरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई प्रदान गरिने छ । उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ । वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद रु ३५ हजारको साथमा अवार्ड पाउने छन् । यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्र्तराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गर्ने निर्णय गरिएको महासचिव पौडेलले बताउनुभयो ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती रहने मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । पोखरा महानगरपालिकाको समन्वयमा हुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्ले सघाउनेछन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ । खेलकुद विधामा विशेष गरी कलम चलाउँदै आएका ७४ पत्रकार हाल मञ्चमा आबद्ध रहेका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्