सडक डिभिजनको विज्ञप्तिपछि बालेनको प्रश्न : को डराएको छ तिमीहरूसँग ?


 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारसँग नडराएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

आइतबार राति १०:१७ बजे स्ट्याट्‌स लेख्दै बालेनले भनेका छन् ‘अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेउ न त , म के बाग्रेनिङ गरेर बसेको छु र ? को डराएको छ तिमीहरूसँग ?’

मेयर बालेनले यो के सन्दर्भमा स्ट्याटस लेखेको खुलाएका छैनन् । तर यो स्ट्याटस महानगर र सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौँसँग सम्बन्धित रहेको सहजै बुझ्‍न सकिन्छ । किन कि शनिबार दिउँसो काठमाडौँ महानगरले सडक डिभिजन काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको थियो । चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण बेहोर्नुपरेको भन्दै महानगरको धुलो थुपारिदिएको हो ।

त्यसपछि सडक डिभिजन काठमाडौँले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो । सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग भएको सडक डिभिजनको विज्ञप्तिमा उल्लेख छ ।

सडक डिभिजन काठमाडौँले प्रतिकार गर्नेसमेत विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने’ विज्ञप्तिमा लेखिएको छ ‘तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्नसमेत सडक डिभिजन काठमाडौँ बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

‘आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको standard चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,’ सडक डिभिजनले भनेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्