गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त


 


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना पु¥याएपछि सुरेन्द्रराजले सर्वोच्चमा मुद्दा हालेका थिए ।

संसदमा बहुमत प्राप्त गर्ने स्थिति नदेखेपछि ठूलो दलको हैसियतमा मुख्यमन्त्री हुने रणनीति लिएका पाण्डे अन्तत अदालतको चक्कर काटेर त्यही बुँदाअनुसार मुख्यमन्त्री नियुक्त हुन सफल भएका छन् । २७ सदस्य रहेको संसदको ठूलो दल कांग्रेस संसदीय दलका नेता पाण्डेले ५७ दिनमा फेरि मुख्यमन्त्रीमा पुनरागमन गरेका छन् ।

नीति तथा कार्यक्रम र बजेटको ल्याउनुपर्ने बेला मुख्यमन्त्री नियुक्त भएका पाण्डेले अर्थमन्त्री तत्कालै नियुक्त गर्ने तयारीमा छन् । मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मतद लिनैपर्ने बाध्यता छ । तर, पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन ।

प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्