कान्तिपुरका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा


 


काठमाडौं, १६ जेठ। नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मा लगाएर छाडेको हो ।

जेठ ८ गते मा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्